आज दशैंकाे महाअष्टमी, दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन

हिन्दु धर्मावलम्बीहरूकाे महान चाड वडा दशैँकाे आज आठौं दिन अर्थात महाअष्टमी । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा आज दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाइन्छ । वडा दशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

शास्त्रसम्मतरुपमा आजको दिनमा दशैँघर लगायत विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीकाे विशेष पूजाआजा गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ । शास्त्रमा वर्णन भए अनुसार “सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन गरिएको छ ।

सात्विक जल, चन्दन, र अक्षता लगायत षोडशोपचारले गरिने पूजा हो । सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी परिभाषित गरिएकाे छ । यी तीनवटा शक्ति दुर्गा भवानीबाटमात्र प्राप्त गर्न सकिन्छ, यसै कारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो । आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजा सहित मनाउने पनि गरिन्छ । साथै, कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ ।

महाअष्टमीका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायतका मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गरिन्छ । यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलान्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा आराधना गर्ने प्रचलन रहिआएकाे छ ।

आज कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रुपमा सरसफाइ गरी देवीको शस्त्र अस्त्रका रुपमा मानी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेहरुले आज पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाइ पूजाआजा गर्ने गर्दछन् । साथै, आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।