आयोजकको रुपमा समुह चरणमा बढी खेल हार्ने कीर्तिमान बनाउँदै कतार

कतार । चालु फिफा विश्वकपमा समुह चरणको दोस्रो खेल सेनेगलसँग पराजय व्यहोर्दै आयोजकको रुपमा समुह चरणमै बढी खेल हार्ने कीर्तिमान कतारले बनाएको छ ।

पहिलो खेलमा इक्वेडरसँग पराजित कतार यो पटक अफ्रिकन राष्ट्र सेनेगलले ३–१ ले पाखा लगाएको छ ।

अल थुमामा रंगशालमा भएको खेलमा सेनेगललाई जित दिलाउन बोउलाये डियाले ४१ औं, फामारा डाइधिउले ४८ औं र बाम्बा डियाङले ८४ औं मिनेटमा गोल गरे । कतारका लागि मुन्तारीले ७८ औं मिनेटमा सान्त्वना गोल गरे । मुन्तारीको गोल विश्वकपमा कतारको पहिलो गोलको रुपमा भने सम्झिइनेछ ।

कतारले अब नेदरल्याण्ड्ससँग अन्तिम खेल खेल्न बाँकी छ । उता पहिलो खेलमा पराजित भएको सेनेगल जारी विश्वकपमा जित निकाल्ने अफ्रिकाको पहिलो टिम बनेको छ । पहिलो खेलमा सेनेगल नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

कतारलाई हराएपछि सेनेगलको नकआउट चरणमा पुग्ने सम्भावना जिवितै छ ।

यस समूहका नेदरल्याण्ड्स र इक्वेडरबीचको खेल आजराति हुँदैछ । उक्त खेल नेदरल्याण्ड्स विजयी भए वा खेल बराबरी भए कतार अन्तिम खेलअघि नै औपचारिक रुपमै बाहिरिनेछ ।