बेल्जियम घर फर्कियो; मोरोक्को र क्रोयसिया नकआउट प्रवेश

कतार । चालु फिफा विश्वकपबाट बेल्जियम घर फर्किएको छ भने मोरोक्को र क्रोयसिया अन्तिम १६ मा प्रवेश गरेको छ ।

आज क्रोयसियासँग भएको खेलमा बेल्जियमलाई अन्तिम १६ प्रवेशको लागि जित्नै पर्ने दबाब थियो । निर्धारित ९० मिनेटको खेलमा बेल्जियम र क्रोयसियाले गोलरहित बराबरी खेल्दा समुह ‘एफ’को अंकतालिकामा ५ अंक सहित दोस्रो स्थानमा रहँदै क्रोयसिया अन्तिम १६ मा प्रवेश गरेको हो ।

मोरोक्कोद्वारा पराजित बेल्जियमले क्यानडामाथि जित हात पारेको भएपनि समुहमा मात्र ४ अंक जोड्न सकेको थियो ।

यता, समुह चरणको कुनै पनि खेल नजितेको क्यानडालाई मोरोक्कोले २-१ ले पराजित गरेको छ । जितसँगै मोरोक्को ७ अंक सहित समुह विजेताको रूपमा नकआउट प्रवेश गरेको छ ।

मोरोक्कोले समुह ‘ई’ को उपविजेता र क्रोयसियाले समुह ‘ई’ को विजेतासँग भिड्नेछ । समुह ‘ई’ मा स्पेन, जर्मनी, जापान र कोस्टारिका रहेका छन् ।

उक्त समुह अन्तर्गत आज राति ००:४५ बजे स्पेनले जापानको र जर्मनीले कोस्टारिकाको सामना गर्नेछ ।