सर्वाधिक गोलकर्तामा एम्बाप्पे, पोल्याण्डलाई हराउँदै फ्रान्स क्वार्टरफाइनल प्रवेश

कतार । चालु फिफा विश्वकपको अन्तिम १६ को तेस्रो खेलमा पोल्याण्डलाई ३-१ ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनल प्रवेश गरेको छ ।

खेलको ४४औं मिनेटमा किलिएन एम्बाप्पेको पासमा ओलिभिएर जिराउडले गरेको गोलबाट फ्रान्सले अग्रता लिएको थियो ।

पहिलो हाफमा १-० को अग्रता लिएको फ्रान्सका लागि किलिएन एम्बाप्पेले ७४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर गरेको हो । निर्धारित समय पश्चातको इन्जुरी टाइममा पुन: गोल गर्दै एम्बाप्पेले फ्रान्सको अग्रता ३-० बनाएको थियो ।

यो सँगै चालु विश्वकपमा सर्वाधिक गोलकर्तामा फ्रान्सका किलिएन एम्बाप्पेले आफ्नो नाम दर्ता गराएका छन् । उनले हालसम्म ५ गोल गरिसकेका छन् । साथै, २३ वर्षको उमेरभित्रै विश्वकपमा सर्वाधिक ८ गोल गर्ने खेलाडीमा समेत उनले आफ्नो नाम दर्ता गरेका छन् ।

खेलको अन्तिम समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पोल्याण्डका कप्तान रोबर्ट लेभान्डोस्कीले सान्त्वना गोल गरेका हुन् ।

चालु विश्वकपमा सर्वाधिक गोल गर्नेहरूमा स्पेनका एल्भारो मोराटा, अर्जेन्टिनामा लियोनल मेस्सी, नेदरल्याण्डका कोडी गाक्पो, इङ्ग्ल्याण्डका मार्कस रासफोर्ड र फ्रान्सका ओलिभिएर जिराउडको समान ३-३ गोल रहेको छ ।