काभ्रे क्याम्पसमा लैङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण
बनेपा । १६ दिने लैङ्गिक हिंसा विरूद्धको दिवसको अवसरमा काभ्रे बहुमुखी क्याम्पस बनेपामा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि लैंङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
“सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरूद्धको अभियान” नाराका साथ आज क्याम्पसको वातावरण तथा सामाजिक सुरक्षा डेस्कको आयोजनामा क्याम्पस सभाहलमा भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायव उपरिक्षक अन्जना श्रेष्ठले जिल्लामा लैङ्गिक हिंसाको अवस्थाको बारेमा जानकारी गराउँदै लैङ्गिक हिंसा के हो ? यसबाट कसरी बच्ने ? र यस सम्बन्धी कानूनहरू लगायतका विषयहरूमा बोल्नुभएको थियो ।
यस्तै कार्यक्रममा मानवअधिकार रजक भोजराज तिमल्सिनाले समेत लैङ्गिक हिंसा सम्बन्धी चर्चा गर्नुभएको थियो । कार्यक्रममा जिल्ला गैरसरकारी संघ संस्था महासङ्घ काभ्रेकी अध्यक्ष गंगा दोङ र क्याम्पस प्रमुख के.जी. वैदारले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थको प्रमुख आतिथ्यता र वातावरण तथा सामाजिक सुरक्षा डेस्कका प्रमुख कृष्णप्यारी नकर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पसमा अध्ययनरत करीब १ सय ५० जना विद्यार्थीहरू र शिक्षकहरूको सहभागिता रहेको थियो ।