पेनाल्टी सुटआउटमा नेदरल्याण्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश

कतार । चालु विश्वकप अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा पेनाल्टी सुटआउटमा नेदरल्याण्डलाई ४-३ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको ३५औं मिनेटमा मलिनाको गोलबाट १-० को अग्रता लिएको अर्जेन्टिनाले ७३औं मिनेटमा पाएको पेनाल्टीलाई कप्तान लियोनल मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

खेलको ८३औं मिनेटमा नेदरल्याण्डका वेघोष्टले गोल गरेपछि नेदरल्याण्ड पुन: खेलमा फर्किएको थियो । नेदरल्याण्डका लागि इन्जुरी समयमा पाएको फ्री-किकको सदूपयोग गर्दै पुन: वेघोष्टले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको हो ।

निर्धारित समयपछि थप एक्स्ट्रा टाइममा समेत कुनै पक्षबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलकीपर मर्टिनेजले नेदरल्याण्डको सुरूको २ सुट रोक्न सफल भएका थिए भने अर्जेन्टिनाका ५ मध्ये मेस्सी सहित ४ जनाले गोल गर्न सफल भएका थिए ।

सेमिफाइनलमा अब अर्जेन्टिनाले पूर्वउपविजेता तथा चालु विश्वकपमा ब्राजिललाई पराजित गर्ने क्रोएसियासँंग खेल्नेछ ।