काठमाडौं विश्वविद्यालयको २८औं दीक्षान्तमा ८ पीएचडी सहित १ हजार ६ सय ९९ विद्यार्थी दीक्षित हुँदै
धुलिखेल । काठमाडौं विश्वविद्यालयको २८औं दीक्षान्तको प्रथम चरणमा ८ जना पीएचडी, ८५ जना एमफिल तथा स्नातक र स्नातकाेत्तर तहका १ हजार ६ सय ६ जना सहित जम्मा १ हजार ६ सय ९९ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।
दीक्षित हुनेहरूमा आर्ट्सका २२० जना, एजुकेसनका २०२ जना, इन्जिनियरिङका २६ जना, ल (कानून) का ४० जना, म्यानेजमेन्टका ४६२ जना, मेडिकल साइन्सेजका ७१२ जना र साइन्सका ३७ जना विद्यार्थी रहनेछन् ।
दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरूष ४३.२० प्रतिशत (७ सय ३४ जना) र महिला ५६.८० प्रतिशत (९ सय ६५ जना) रहनेछन् । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू १०.९५ प्रतिशत रहेका छन् । अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटली, माल्दिभ्स, रूस, सिङगापुर, स्पेन, श्रीलंका, ताइवान र संयुक्त राज्य अमेरिका गरि १४ देशका १८६ जना रहेका छन् ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयकाे इतिहासमा पहिलाेपटक मास्टर्स अफ इन्जिनियरिङ इन सन्यानिटेसन टेक्नोलोजीमा ६ जना र मास्टर्स अफ साइन्स इन सन्यानिटेसन टेक्नोलोजीमा १ जना गरी जम्मा ७ जनालाई उपाधि प्रदान गरिनेछ।
मंसिर २९ गते विहीबार हुने दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकाे अध्यक्षता, वरिष्ठ फिजिसियन तथा मुटुराेग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेकाे प्रमुख आतिथ्यता र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलकाे उपस्थिति तथा उपकुलपति प्रा. डा. भाेला थापाले स्वागत भाषण गर्ने कार्यक्रममा जानइएकाे छ ।
२८ औं दीक्षान्त समाराेहसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट हालसम्म ४० हजार ३५ जना उत्तीर्ण भएका छन् ।