पनौती ठाडोबाटोमा क्षतिपूर्ति माग गर्दै सडक अवरूद्ध
पनौती । काभ्रेको बेथानचोक गाउँपालिका ४ स्थित चलाल गणेशस्थानमा भएको बस दुर्घटनाबाट मृत्यु भएकाहरूलाई उचित क्षतिपूर्तिको माग गर्दै सार्वजनिक यातायात अवरूद्ध गरेका छन् ।
मृतकका आफन्त र घाइतेले पनौतीबाट चल्ने सार्वजनिक यातायात अवरुद्ध गरेका हुन् । उनीहरूले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै पनौतीस्थित ठाडोबाटोमा सडक अवरुद्ध गरेका हुन् । निजी सवारी र रिजर्भका गाडी भने चलिरहेको छ ।
अहिले मृतकका आफन्त र यातायात व्यवसायीबीच छलफल भइरहेको पनौती प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक रुपेश श्रेष्ठले बताए ।
मंगलबार साँझ चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा करिब ६:१५ बजे बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको थियो ।
बेथानचोक गाउँ पालिकाको वडा नं. ५ च्याल्टी भन्ने ठाउँबाट छेवार मनाएर फर्कर्ने क्रममा ओरालोमा अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दूर्घटनामा परि १८ जनाको मृत्यु भएको थियो ।