झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल आउने तरखरमा छुः सन्दीप लामिछाने

काठमाडौं । जति सक्दो चाँडो नेपाल फर्किएर आफू बिरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको सन्दीप लामिछानेले बताएका छन् ।

आज आफ्नो सामाजिक सञ्जाल मार्फत उनले आफू बिरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चार माध्यम र सामाजिक सञ्चालमा एकलौटी तरिकाले, सत्य, तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा उनको चरित्रमा गम्भिर आँच आउने समाचारहरुका कारण मानसिक असर परेको उल्लेख गरेका छन् ।

आफू बिरामी भएको र उनी बिरुद्धका समाचारहरुले मानसिक तनाव दिएको कारण उनले आफूलाई आइसोलेसनमा राखेका बताएका छन् । उनले राष्ट्रको लागि दीलोज्यानले खेलिरहेको एक इमान्दार खेलाडी माथि एउटा गम्भिर षड्यन्त्रको सिकार भएको महसुस गरेको समेत उल्लेख गरेका छन् ।

गत भदौ २१ गते उनीमाथि एक नाबालिगलाई पटकपटक जबरजस्ती करणी गरेको उजुरी परेको थियो भने उजुरीको आधारमा थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो ।