काठमाडौं विश्वविद्यालयको प्रथम चरणकाे २८ औं दीक्षान्त समारोह सम्पन्न
धुलिखेल । काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त समारोह अन्तर्गत प्रथम चरणकाे दीक्षान्त समारोह सम्पन्न भएको छ ।
बिहीबार भएकाे दीक्षान्त समारोहमा १ हजार ६ सय ९६ जना दिक्षित भएका छन् । दीक्षित हुनेमा विभिन्न विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ६ जना सहित जम्मा १ हजार ६ सय ९६ जना विद्यार्थी दीक्षित भएका छन् ।
दिक्षित हुनेमध्ये आर्ट्सका २२० जना, एजुकेसनका २०२ जना, इन्जिनियरिङका २६ जना, लका ४० जना, म्यानेजमेन्टका ४६२ जना, मेडिकल साइन्सेजका ७०९ जना र साइन्सका ३७ जना विद्यार्थी रहेका छन् । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू १०.९५ प्रतिशत रहेका छन् ।
पहिलाेपटक काठमाडौं विश्वविद्यालयकाे इतिहासमा मास्टर्स अफ इन्जिनियरिङ इन सन्यानिटेसन टेक्नोलोजीमा ६ जना र मास्टर्स अफ साइन्स इन सन्यानिटेसन टेक्नोलोजीमा १ जना गरी जम्मा ७ जनालाई उपाधि प्रदान गरिएकाे थियाे ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकाे अध्यक्षता, वरिष्ठ फिजिसियन तथा मुटुराेग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेकाे प्रमुख आतिथ्यता र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलकाे उपस्थितिमा सम्पन्न २८ औं दीक्षान्त समारोहमा उपकुलपति प्रा. डा. भाेला थापाले स्वागत भाषण गरेका थिए ।