७ दलको समर्थनमा प्रचण्डको नेतृत्वमा नयाँ सरकार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन रहेकाे छ ।प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ७ दलको सांसदको संख्या १६६ हुन आउँछ । आईतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको दलहरूको बैठकले प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको हो ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेसंगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको हाे । कांग्रेस माओवादी गठबन्धन ताेडिएर बनेकाे नयाँ सरकार गठनकाे सहमति भएसंगै एमाले र माओवादीवीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति पनि भएको हाे ।

बैठकले प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेकपा एमालेसहित १६६ सांसदको समर्थन जुटाएकाे छ । एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद गरी १६६ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेस गर्ने जनाईएकाे छ ।