क्षितिजकाे १६ औं वार्षिकोत्सव, उत्कृष्ट कर्मचारी र शिक्षकलाई सम्मान

बनेपा । काभ्रेपलान्चोक जिल्लाकाे बनेपामा रहेकाे क्षितिज इङ्लिस बोर्डिङ स्कूल बनेपाले १६ औं वार्षिकोत्सव मनाएको छ । आइतवार र साेमवार दुई चरणमा विभिन्न कार्यक्रमकाे आयोजना गरी आफ्नाे १६ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेकाे हाे । दुई दिनसम्म चलेकाे कार्यक्रमकाे दोस्रो चरणकाे कार्यक्रम काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख आतिथि थापाले विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि पहिलो खुड्किलो भनेको माध्यमिक तहका शिक्षकहरु रहेकाे बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयमा अध्ययन गर्नुभन्दा पहिला नै विद्यालयमा शिक्षकहरुले विद्यार्थीहरुलाई आफ्नो भविष्यको बाटो निर्धारण गर्न महत्वपूर्ण भूमिका रहेकाे चर्चा गर्दै विद्यालयका शिक्षकहरुप्रति आदर र सम्मान रहेको बताएका छन् । उनले विद्यालयकाे अतिरिक्त क्रियाकलाप देखेर खुशी व्यक्त गर्दै विद्यार्थीहरुलाई भौतिक शिक्षाभन्दा प्रयोगात्मक शिक्षामा जोड दिएकोमा शिक्षक शिक्षिकाहरुलाई धन्यवाद दिए ।

दोस्रो चरणकाे कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक झाँकी, नृत्य लगायतका अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए । साेही कार्यक्रममा विद्यालयले एइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई बिदाइका साथै उत्कृष्ट कर्मचारी र शिक्षकहरुलाई सम्मान समेत गरेकाे थियाे । आइतवार सम्पन्न पहिलो चरणको कार्यक्रम बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यकाे प्रमुख आतिथ्यातामा भएकाे थियाे । कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले निजि विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताँउदै क्षितिज स्कुलले पनि ईट्टा थप्ने काम गरेको बताए ।

उनलेले आगामी दिनमा नगरपालिकाले निजि विद्यालयहरुसंग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएका थिए । पहिलाे चरणकाे कार्यक्रममा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुले विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय सञ्चालन समितिका अध्यक्ष हरि गोपाल प्रधानाङ्गको अध्यक्षतामा भएको थियाे ।