२०० मेगापिक्सेल क्यामेरा भएको साओमी स्मार्टफोन १९ मिनेटमै फुल चार्ज हुने
काठमाडौं । २०० मेगापिक्सेल क्यामेरा भएको फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गरेको छ । गत मंगलबार एक कार्यक्रम आयोजना गर्दै चिनियाँ मोबाइल निर्माता कम्पनीले ‘साओमी १२ टी’ र ‘साओमी १२ टी प्रो’ फोनको ग्लोबल लन्च गरेको हो ।
सार्वजनिक गरेको साओमी १२ टीमा १२० हर्ज रिफ्रेसरेट भएको ६.६७ इन्चको क्रिस्टलरेस एमोलेड डिस्प्ले रहेको छ । मिडियाटेक डाइमेन्सिटी ८१०० अल्ट्रा चिपसेटद्वारा सञ्चालित यस फोनमा ८ जीबी र्याम रहेको छ । एन्ड्रोइड भर्सन १२ मीयूआई १३ मा आधारित यो फोनमा १२८ जीबी र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ ।
फोनमा तीन ओटा रियर क्यामेरा छ । यसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर समावेश छ । सेल्फीका लागि भने यसमा २० मेगापिक्सेलको क्यामेरा सेन्सर प्रयोग गरिएको छ ।
५००० एमएएच ब्याट्री भएको यस फोनमा १२० वाटको फास्ट चार्जर उपलब्ध गराएको छ, जसलाई १९ मिनेटमा १०० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । यस फोनको मूल्य ५९९.९ युरो (करिब ७६ हजार ९ सय ३० रुपैयाँ) तोकिएको छ ।