लाेकतान्त्रिक बाम गठबन्धनकाे पत्रकारसंग अन्तरक्रिया
बनेपा । लाेकतान्त्रिक बाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति काभ्रेपलान्चोकले पत्रकारहरूसंग अन्तरक्रिया गरेकाे छ ।
लाेकतान्त्रिक बाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिकाे आायाेजनामा बनेपामा निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्ना धारणा सार्वजनिक गर्न अन्तरक्रिया गरेकाे हाे ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रेपलान्चोक जिल्लामा गठबन्धनकाे तर्फबाट साझा उम्मेदवारी रहेकाे छ । जिल्लामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलको गठबन्धन छ ।
कार्यक्रममा गठबन्धन आवद्ध दलहरूले गठबन्धनकाे आवश्यकता र औचित्य बारे धारणा राखेका थिए ।
आगामी मंसिर ४ मा हुने निर्वाचनमा काभ्रेपलान्चोक जिल्लाकाे गठबन्धन दलको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका सूर्यमान दाेङ (लालध्वज) उम्मेदवार बनेका छन् । लालध्वज पुर्व राज्यमन्त्रीका साथै संविधान सभा सदस्य समेत हुन् । उनी नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य हुन् ।
यस्तै, प्रदेश सभातर्फ १ (क) मा रत्न प्रसाद ढकाल र (ख) मा तिर्थ लामाले उम्मेदवारी दिएका छन् । वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत रहेका रत्न प्रसाद ढकाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् भने तिर्थ लामा नेपाली काङ्ग्रेस काभ्रेपलान्चोकका जिल्ला सभापति हुन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाँईकाे उम्मेदवारी रहेकाे छ । काङ्ग्रेस काभ्रेपलान्चोक जिल्लाकाे पूर्व सभापति भैसकेका हुमागाँई हाल काङ्ग्रेसकाे केन्द्रीय सदस्य हुन् । प्रदेश सभातर्फ २ (क) मा लक्ष्मण लम्साल र (ख) मा कञ्चनचन्द्र बादेकाे उम्मेदवारी रहेकाे छ । बागमती प्रदेश सभाकाे सदस्य भैसकेका लक्ष्मण लम्साल नेकपा एकीकृत समाजवादीका बागमती प्रदेशका सचिव हुन् भने कञ्चनचन्द्र बादे संविधानसभा सदस्य तथा पुर्व राज्यमन्त्री समेत हुन् । उनी नेपाली काङ्ग्रेसकाे बागमती प्रदेशका महामन्त्री पनि हुन् ।
अन्तरक्रिया कार्यक्रममा पत्रकारकाहरुले राखेका विभिन्न सवालकाे सहभागी उम्मेदवारहरूले जवाफ दिएका थिए ।