नेदरल्याण्डलाई हराउँदै श्रीलंका अन्तिम १२ मा प्रवेश
अष्ट्रेलिया । अष्ट्रेलियाको गिलोङ्गमा भएको पहिलो चरणको अन्तिम खेलमा नेदरल्याण्डलाई १६ रनले पराजित गर्दै श्रीलंकाले अन्तिम १२ मा स्थान पक्का गरेको छ ।
पहिलो खेलमा नामिबियासँग पराजय व्यहोरेको श्रीलंकाले दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो । आज भएको अन्तिम खेलमा श्रीलंकाले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो ।
जसका लागि कुसल मेन्डिसले ४४ बलमा ७९ रन बनाएका थिए भने चारिथ आशालंकाले ३० बलमा ३१ रन बनाएका थिए । नेदरल्याण्डका लागि पल भ्यान मकरान र वास दी लिडेले २–२ विकेट लिएका थिए ।
जवाफी ब्याटिमा नेदरल्याण्डले ९ विकेटको क्षतिमा मात्र १४६ रन बनाउन सकेको थियो । जसका लागि म्याक्स ओडेडले ५३ बलमा अविजित ७१ रन बनाएका थिए । श्रीलंकाका लागि हसारंगा डी सिल्भाले ३ र महिष थिक्सानाले २ विकेट लिएका थिए ।
जितसँगै समुह तालिकामा २ खेलमा जित दर्ता गर्दै शीर्षस्थानमा श्रीलंका रहेको छ । श्रीलंकाको ०.६६७ नेट रनरेट रहेको छ भने नेदरल्याण्डको –०.१६२ नेट रनरेट रहेको छ र दुवैले समान अंक बटुलेको छ ।
सोही समुहको नामिबिया र युएई बीचको खेल हाल जारी छ । नामिबियाले जित हात पारे नेट रनरेटको आधारमा अर्काे चरणमा जाने सम्भावना रहेको छ भने युएईले जित्दा नेदरल्याण्ड अर्काे चरणमा प्रवेश गर्नेछ ।