अपूर्व क्षितिजले रुँदै भने ‘मलाई काठमाडौं बस्न डर छ, तरपनि म यहीँ बस्छु’

काठमाडौँ । लामो समयको बहसपछि जिल्ला अदालतले धरौटीमा रिहाई गरेको अपूर्व क्षितिज सिंहले आफू काठमाडौं बस्न डर भएपनि काठमाडौंमा नै बस्ने बताएका छन् ।

बिहिबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासबाट साँझ कमेडियन अपूर्व क्षितिज सिंहलाई अढाई लाख धरौटीमा रिहाइ गर्ने आदेश दिएको हो ।

लामो प्रक्रियापछि धरौटीमा छुटेका अपूर्वको मुहारमा भने हाँसो हराएको थियो । हिरासत हुँदा आफन्त लगायत प्रहरीहरुले समेत हिरासतमा छुटेपछि बाहिर डर हुने बताएपछि हिरासतमा रहँदा मानसिक असर परेको बताए । उनी भन्छन्, ‘मलाई काठमाडौंमा बस्न पनि डर लाग्छ, तर म बस्छु ।’

आफ्नो कमेडीलाई गलत बुझिएकामा र भिडियो डिलिट गरेर माफीसमेत मागिसकेको अवस्थामा राज्यले गरेको क्रुर व्यवहारका कारण मन कुँडिएको उनले बताए । उनी भन्छन् ‘स्टेज चढ्छु, कमेडी छोड्दिन’ । केही समय लागेपनि पुनः कमेडी क्षेत्रमा फर्किने उनले बताएका छन् ।