काभ्रेमा लोकतान्त्रिक बाम गठबन्धन घरदैलो अभियानमा

बनेपा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ काे मिति नजिकिएसँगै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको लोकतान्त्रिक बाम गठबन्धनले बिहिबारबाट काभ्रेपलान्चोक जिल्लामा चुनावी घरदैलो अभियान सुरू गरेकाे छ ।

गठबन्धनले बैठक, भेला, घरदैलो, भेटघाटलाई तिव्रता दिदै मंसिर ४ मा हुने निर्वाचनलाई लक्षित गरेर प्रतिनिधी सभा क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश सभा (क) र (ख) दुबै क्षेत्रमा आफ्नो घरदैलो अभियान शुरु गरेकाे हाे ।

प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नमोबुद्ध नगरपालिकाकाे वडा नम्बर ३ र ४ बाट जनता भेटघाट कार्यक्रम शुरु भएको छ । प्रदेश सभा १ (क) का प्रत्यक्ष उम्मेदवार रत्नप्रसाद ढकाल, समानुपातिकतर्फका उम्मेदवार एकिकृत समाजवादीका येशु लामा, पासाङ डोल्मो लामासहितको टोलीले भेटघाट कार्यक्रम सुरू गरेकाे हो ।

प्रदेश सभा क्षेत्र नं १ (ख) मा राेशि गाउँपालिका वडा नम्बर ५ शिसाखानीबाट घरदैलो शुरु भएकाे छ । सो क्षेत्रमा गठबन्धन दलका तर्फबाट नेपाली कानेपालिका उम्मेदवार तिर्थबहादुर लामा लगायत गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताहरुले घरदैलो थालेका हुन् ।

जिल्लाकाे प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा पनि लोकतान्त्रिक बाम गठबन्धनले भुम्लु गाउँपालिकाको वडा नम्बर १ सापिङबाट घरदैलो अभियान शुरु गरेको छ । प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार शिवप्रसाद हुमागाई, प्रदेश सभा २ (क) का उम्मेदवार लक्ष्मण लम्साल समानुपातिक उम्मेदवार माओवादी केन्द्रकी मिना तामाङ, रुकु चौलागाईसहितको टोलीले घरदैलो अभियान शुरु गरेका हुन् ।

यस्तै, प्रदेश सभा क्षेत्र नम्बर २ (ख) ले पनि बेथानचोक गाउँपालिकाबनट आफ्नाे घरदैलो अभियान सुरू गरेकाे छ ।

प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार हुमागाईसहित प्रदेश सभा २ (ख) का उम्मेदवार कञ्चनचन्द्र बादे, संविधानसभा सदस्य समेत रहेका नेकपा (एकिकृत समाजवादी) का पोलिट्व्युरो सदस्य कृष्णप्रसाद सापकोटा, विदुरप्रसाद सापकोटा, नेकपा (माओवादी केन्द्र) की मिना तामाङ, समानुपातिक उम्मेदवार भोला प्रसाद अर्याल, सुरकृष्ण बैद्य लगायत गठबन्धन दलका नेताहरुले संविधानको रक्षाको लागि गठबन्धनलाई जिताउनुपर्ने बताउँदै गठबन्धनकाे जित सुनिश्चित रहेकाे बताए ।

काभ्रेपलान्चोक जिल्लामा २ प्रतिनिधी सभा निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा ३५ जना र प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा सदस्य (क) का लागि ९ जना र प्रदेश सभा सदस्य (ख) का लागि ९ जना उम्मेदवार छन् भने प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा सदस्य (क) का लागि ६ जना र प्रदेश सभा सदस्य (ख) का लागि ७ जना उम्मेदवार रहेका छन् ।

गठबन्धनले २ वटै प्रतिनिधी सभा निर्वाचन क्षेत्र र ४ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्नाे घरदैलो अभियान शुरु गरेकाे लाेकतान्त्रिक बाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति काभ्रेपलान्चोकले बताएकाे छ ।