बाराहीको आइपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आज देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ । सो शेयर खरिदका लागि बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा कात्तिक १८ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद मंसिर ४ गतेसम्म लम्बिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।