होटल, रेष्टुरेन्ट र बारको मेन्युमा सेवा र भ्याट शुल्क लिन नपाउने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै अबदेखि होटल, रेष्टुरेन्ट र बारको मेन्युमा सेवा शुल्क र भ्याट शुल्क जोडेर लिन नपाउने जनाएको छ ।

विज्ञप्ति अनुसार विभागले होटल, रेष्टुरेन्ट र बार व्यवसायीहरूलाई मेन्युमा उल्लेख भएबाहेक उपभोक्ताबाट अतिरिक्त रकम नउठाउन सचेत गराएको हो ।

होटल तथा रेष्टुरेन्टले अतिरिक्त सेवा शुल्कका नाममा रकम लिने गरेको गुनासो विभागमा आएकाले यस किसिमको कदम चाल्न परेको विभागले जनाएको छ । अतः उक्त सूचना पालना नगरेमा नियमानुसार कारवाही गर्ने समेत विभागले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ – ‘सबै होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीले उपभोक्ता मेन्युमा वस्तु तथा सेवाको मूल्य उल्लेख गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमका सेवा शुल्क तथा कर रकमसहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्नुहुन र सो मूल्यमा कुनै अतिरिक्त मूल्य नलिनुहुन सुचित गरिन्छ ।’