दुई पटकको विजेता वेस्टइण्डिज विश्वकपबाट बाहिरियो, आयरल्याण्ड अन्तिम १२ मा प्रवेश

अष्ट्रेलिया । अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी मेन्स टीट्वान्टी विश्वकपबाट दुई पटकको विजेता वेस्ट इण्डिज विश्वकपबाट बाहिरिएको छ ।

पहिलो चरण अन्तर्गत आजको भएको तेस्रो खेलमा आयरल्याण्डसँग ९ विकेटले पराजित भएपछि वेस्टइण्डिज विश्वकपबाट बाहिरिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइण्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । जसका लागि बे्रन्डन किङ्गले ४८ बलमा अविजित ६२ रन बनाएका थिए भने आयरल्याण्डका लागि ग्यारेथ डेलानीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा आयरल्याण्डले १ विकेट गुमाएर १७ ओभर ३ बलमा विजयलक्ष्य हासिल गरेका हुन् । आयरल्याण्डका लागि पल स्टर्लिङ्गले ४८ बलमा अविजियत ६६ र लोर्कन टकरले ३५ बलमा अविजित ४५ रन बनाएका थिए ।

वेस्ट इण्डिज अघिल्लो संस्करणहरु मध्ये सन् २०१२ मा श्रीलंका र सन् २०१६ मा इङ्गल्याण्डलाई पराजित गर्दै दुईपटक विश्व च्याम्पियन बनिसकेको छ । यो पटक भने पहिलो समुह चरणको खेल अन्तर्गत पहिलो खेलमा स्कटल्याण्डसँग ४२ रनले पराजित भएपनि दोस्रो खेल जिम्बाब्वे बिरुद्ध ३१ रनको जित निकालेको थियो ।

अन्तिम खेलमा आयरल्याण्डसँग पराजित भएपछि वेस्टइण्डिज विश्वकपबाट बाहिरिएको हो भने जितसँगै आयरल्याण्डले सुपर–१२ मा स्थान पक्का गरेको छ ।