आजबाट तिहार शुरू, तिहारकाे पहिलाे दिन काग तिहार
हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशैं सकिएसँगै आजवाट तिहार शुरु भएको छ ।
आज तिहारको पहिलो दिन काग तिहार । काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो । यस दिन कागको पूजा गर्ने गरिन्छ ।
काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ ।
कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ । तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ । विशेषगरी काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ ।
काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ ।
विशेषगरी कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । कागको पूजाआजा गर्दै आँउदो वर्षभरि कागले आफ्नो घरआगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस भनेर कामना गरिन्छ । हिन्दू धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ । काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ ।
मानवसभ्यता र प्रकृतिसँग जोडिएको पन्छी कागको पूजा गर्नुलाई मानिसले प्रकृतिमा रहेका जीवजन्तुलाई गर्ने प्रेम र सम्मानको रुपमा पनि लिइन्छ ।