आज कार्तिक कृष्ण औंशी, गाई तिहार

कार्तिक कृष्ण औंशीको दिन अथवा तिहारको तेश्रो दिन गाईको पूजा गरिन्छ । गाईको पूजा गरिने भएकोले यस दिनलाई गाई तिहार भनिन्छ ।

हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन्। गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गर्ने गरिन्छ तर यस पटक भने लक्ष्मीपूजा हिजाे नै भैसकेकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज गाई तिहारमात्र रहेकाे छ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा फलिफाप हुन्छ भन्ने ज्योतिषीय मान्यता छ ।

हिन्दु धर्म अनुसार कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा पवित्र तुल्याउने संस्कार रहिआएकाे छ । गाईलाई पशुधनका रूपमा पनि लिइन्छ। हिन्दू धर्ममा गाईलाई लक्ष्मी र गौमाताका रूप मानिन्छ । साथै, गाई अर्थात् लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक समेत मानिन्छ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गरिने गरिन्छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने प्रचलन रहिआएकाे छ ।