आजबाट नेपाल सम्बत् ११४३ सुरू, हली तिहार र म्ह पूजा पनि आजै
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ ।
आजैका दिन कृषिकर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने चलन रहि आएकाे छ । साथै, गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । यसैले आजको दिनलाई हलीतिहार समेत भन्ने गरिन्छ । आज गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ ।
आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको जानकारहरू बताउछन् ।
आज कार्तिक शुक्ल प्रतिपदाका दिन नेवारी समुदायले आज बेलुकी आत्म (म्ह) पूजा म्हपुजा गर्दछन् । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो ।
आबाट नेपाल सम्बत् ११४३ सुरू भएकाे छ । नेपाल सम्वत् (छोटकरीमा : नेसं) नेवार समुदायमा प्रचलित नेपालको मौलिक राष्ट्रिय सम्वत् हो । नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाः हुन् । उनले नेपालमण्डलका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो । भक्तपुरका राजा राघवदेवको आज्ञामा वि.सं. ९३६ र सन् ८७९ अक्टोबर २० का दिन देखि सुरुवात भएको थियो ।