पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई एन्फाले बोलायो

काठमाडौं । आगामी कार्तिक ३० गते दशरथ रंगशालामा हुने पाकिस्तान विरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि एन्फाले ३० खेलाडीलाई बोलाएका छन् ।

खेलाडी छनौटका लागि मुख्य प्रशिक्षक प्रवेश कटुवालले ३० जना खेलाडीहरुलाई बोलाएको एन्फाले जनाएको छ । पहिलो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका कटुवालले यो अवसर आफूले गुमाउन नचाहेको बताउँछन् । खेलाडी छनोटका बारेमा बोल्दै कटुवालले मैत्रीपूर्ण खेलका लागि आफूले उत्कृष्ट टोली छनौट गर्न सक्नेमा आफू विश्वस्त रहेको बताउँछन् । राष्ट्रिय टोलीको बन्द शिविर बुधबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

छनौटमा परेका खेलाडीहरुमध्ये गोलकिपरहरुमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् भने अन्य खेलाडीहरुमा विकास खवास, विकास तामाङ, सेसेहाङ आङ्देम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभास लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रणजित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ, सुरज जेउ ठकुरी, सुजल श्रेष्ठ, अरिक विष्ट, विमल घर्तीमगर, अन्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, ऋतिक खड्का, आयुष घलान, रमेश राई, गौतम श्रेष्ठ, संजोग राई र निशान खड्का रहेका छन् ।

राष्ट्रिय टोलीबाट प्रभावशाली मिडफिल्डर विशाल राई चोटका कारण बाहिरिएको प्रशिक्षक कटुवालले बताए । राई घाइते भएकाले उनी टोलीमा आउने छैनन् ।