सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, थुनछेक बहस भोलि पनि जारी हुने
काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा आज भएको बहस पछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।
मंगलबार बयान सकिएपछि बुधबारदेखि सुरु थुनछेक बहस शुरु भएको हो । बुधबार ९ जना वकिलले बहस गरेको अदालतले जनाएको छ ।
आज सन्दीपको तर्फबाट बहस गरेकी अधिवक्ता रोशनी पौडेलका अनुसार जन्मदर्ता तथा स्कुलको विवरण अनुसार पीडित भनिएकी किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको बताइएको छ ।
पीडित भनिएकी किशोरीहरुको तर्फबाट ४ जना वकिलहरुले बहस गरेका थिए । उनीहरुले प्रतिवादी लामिछानेले बलात्कार गरेको दाबी गर्दै कानून बमोजिम सजायको माग गरेका थिए ।
भोलि बिहिबार सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा र सविता बराल भण्डारीले बहस गर्नेछन् ।
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।
दफा २१९ को उपदफा (३) को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदावी गरिएको हो ।