अष्ट्रेलियामा ‘नेपाल फेस्टिबल ब्रिजबेन’ भव्यताका साथ सम्पन्न
सिड्नी । अष्ट्रेलियामा नेपाललाई चिनाउने वृहत् उद्देश्यका साथ सिड्नीको किङजर्ज स्क्वायरमा ‘नेपाल फेस्टिबल ब्रिजबेन २०२२’ भव्यताका साथ सम्पन्न भएको छ ।
आइतबार भएको कार्यक्रममा नेपाली भेषभुषामा सुसज्जित नेपालीहरुका साथमा परेड सहित सुरु भएको थियो । कार्यक्रममा १ किलोमिटर पथयात्रापछि कार्यक्रमस्थल जर्जस्क्वायरमा औपचारिक रुपमा सुरु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले नेपाल फेस्टिबलले नेपाली संस्कृति, भाषा, भेषभुषा र समग्र नेपाली मौलिकपनको प्रवद्र्धन गरेको र उक्त फेस्टिबल नेपालीको एउटा पर्वकै रुपमा विकसित भएको भन्दै यसले नेपालीको पहिचान विश्वसामु पुर्याउने समेत धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि एवम् उप–प्रधानमन्त्री एवम् राज्य विकास र पूर्वाधार मन्त्री स्टीवन माइल्सले नेपाल फेस्टिबलबाट नेपाली संस्कृति, भाषा कलाका विषयमा आफुले पनि जानकारी लिन पाएकोमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा विशेष अतिथि एवम् ब्रिसबेन सिटी काउन्सिल सदस्य विकी हावर्ड, ब्रिसबेनबाट संघिय एम.पी. मा. स्टीफन बेट्स, ब्रोड वाटरका लागि सांसद डेभिड क्रिसफुल्ली लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् नेपाल फेस्टिबल ब्रिजबेन सयोंजक विनोद भक्त आचार्यले कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
उनले कार्यक्रममा दर्शकहरुको उपस्थिति देखेर कार्यक्रम सोँचेको भन्दा पनि सफल भएको बताउँदै आगामी दिनमा पनि नेपाललाई प्रवद्र्धन गर्ने उद्धेश्य राखेर अझै धेरै कार्यक्रम गर्ने बताए ।
त्यस्तै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष्य डा. बद्रि के सी, कोअर्डिनेटर विनोद भक्त आचार्य, उपाध्यक्ष दुर्गा आचार्य, धर्म अधिकारी, सचिव होम पाण्डे, ओसियाना रिजनल कोअर्डिनेटर दिनेशराज जोशी, केशवप्रसाद सापकोटा, डेप्युटी रिजनल कोअर्डिनेटर सन्तोष कुँवर, एनआरएनए उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, भिक्टोरिया सयोंजक हरि खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली खानाका परिकार लगायत अन्य विभिन्न स्टलहरु राखिएको थियो । औपचारिक कार्यक्रम सम्पन्न भएपश्चात सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । सांस्कृतिक कार्यक्रम तर्फ बहुसांस्कृतिक समुदायका संस्कृति र रितिरिवाजहरु समेत प्रस्तुत गरिएको थियो । उक्त अवसरमा विभिन्न नेपाली झाँकीहरु, नेपाली पञ्चेबाजाका साथमा विभिन्न जातजातिका संस्कृतिहरु प्रस्तुत गरिएको थियो ।
नेपाल फेस्टिबल ब्रिजबेनले समग्र नेपाललाई एउटै कार्यक्रममा प्रतिनिधित्व गरेको थियो । फेस्टिबलमा नेपालबाट आएका कलाकारहरू दिपक बज्राचार्य एबम रिदम ब्याण्ड र लोकगायक प्रकाश सपूतले सांगितक प्रस्तुती दिँदै दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै छमछमी नचाएका थिए ।
कार्यक्रममा क्विन्सल्याण्ड राज्यका बहुसांस्कृतिक समुदायका प्रतिनिधिहरू र क्विन्सल्याण्ड राज्यमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरू तथा अन्य गरी झण्डै १० हजार दर्शकको उपस्थिति रहेको थियो ।
गैरआवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आयोजनामा अस्ट्रेलियाका विभिन्न सहरमा प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको छ ।