बालाचतुर्दशी – एक परम्परागत पर्व

बालाचतुर्दशी अर्थात मंसिर महिनको कृष्ण चतुर्दशी नेपालमा मानाईने एक परम्परागत पर्व हो ।

सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्वहरू मध्ये छुट्टै एवं विशिष्ट महत्त्व रहेको बालाचतुर्दशी विभिन्न मन्दिरहरूमा सतबीज (सतबीउ) छरेर मनाईन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने याे पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ ।

नेपालीमा ‘शतम्’को अर्थ सय र ‘बीज’को अर्थ बीउ हुन्छ । यसकारण, शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । शतबीजमा मुख्यतय धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई लिइने गरेको पाइन्छ ।शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरूका साथै स्थानीय फलफूल पनि मिसाइन्छ ।

यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत देशका अन्य शिवालयहरूमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिने प्रचलन रहिआएको पाईन्छ।

बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । यसैकारण बालाचतुर्दशीमा पशुपतिनाथ लगायत देशका अन्य शिवालयहरूमा भक्तजनहरूको बिहानैदेखि सतबीज छर्न ठूलो भीड लाग्ने गर्दछ । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्ग कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर लषायतका स्थानहरूमा सतबीज छरिन्छ ।

प्रचलन अनुसार मंसिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् ।