कांग्रेसबाट टिकट पाउने कान्छा उमेरका उम्मेदवार गौचन विजयी
मुस्ताङ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट सबैभन्दा कान्छा उमेरका उम्मेदवार योगेश गौचन विजयी भएका छन् ।
मुस्ताङबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका गौचनले ३ हजार ९ सय ९२ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका थिए ।
गौचनले तुलाचनलाई ९ सय १४ मतले पराजित गरेका हुन् ।
विजयी बनेका गौचन वाणिज्यमन्त्री समेत बनिसकेका रोमी गौचनका सुपुत्र हुन् । योगेश गौचन विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय थिए । नेवि संघबाट राजनीतिक यात्रा सुरु गरेका उनी नेपाली कांग्रेस लेते गाउँ सभापति, जिल्ला कार्यसमिति सदस्य हुँदै १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत बनिसकेका छन् ।
वि.सं. २०५० वैशाख महिनामा थासाङ गाउँपालिकामा जन्मिएका उनी हाल नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य समेत हुन् ।