सकियो काठमाडौंको मतगणना, कांग्रेसको ५ र राष्ट्रिय स्वतन्त्रको ४ क्षेत्रमा जित
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को काठमाडौं जिल्लाको मतगणना सकिएको छ ।
काठमाडौंको १० क्षेत्र मध्ये ५ क्षेत्रमा नेपाली कांग्रेसको जित भएको छ भने ४ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ । एक क्षेत्रमा नेकपा एमालेले जितेको छ ।
नेपाली कांग्रेसको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा प्रकाशमान सिह, क्षेत्र नं. ३ मा सन्तोष चालिसे, क्षेत्र नं. ४ मा गगनकुमार थापा, क्षेत्र नं. ५ मा प्रदीप पौडेल र क्षेत्र नं. १० मा राजेन्द्रकुमार के.सी.ले जित हासिल गरेका हुन् ।
प्रकाशमान सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गरेका थिए भने प्रदीप पौडेलले नेकपा एमालेका ईश्वर पोखरेललाई ५ हजार ६२ मतले पराजित गरेका थिए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा सोबिता गौतम, क्षेत्र नं. ६ मा शिशिर खनाल, क्षेत्र नं. ७ मा गणेश पराजुली र क्षेत्र नं. ८ मा विराजभक्त श्रेष्ठ विजयी भएका हुन् ।
शिशिर खनालले नेकपा एमालेका उम्मेदवार पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई ५ हजार २९३ मतले पराजित गरेका हुन् भने विराजभक्त श्रेष्ठले स्वतन्त्र उम्मेदवार सुमन सायमीलाई ४ हजार २१६ मतले पराजित गरेका हुन् ।
यसैगरी काठमाडौं क्षेत्र नं. ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई ९९५ मतले पराजित गरेका हुन् ।
प्रदेश सभा निर्वाचनतर्फको मतगणना जारी छ, अन्तिम नतिजा आउन बाँकी छ ।