भक्तपुर २ बाट एमालेका महेश बस्नेत पराजित, दुर्लभ थापा विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तरगत भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता महेश बस्नेतलाई पछि पार्दै नेपाली कांग्रेसका दुर्लभ थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

थापाले एमालेका बस्नेतलाई ८ सय २३ मतान्तरले हराएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका थापाले २३ हजार ५ सय मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् ।

यस्तै, नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९ सय ५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३ हजार ८ सय २० र राप्रपाका मोहन केसीले २ हजार ४ सय ८६ मत प्राप्त गरेका छन् ।