आज विजयादशमी: टीकाको साईत ११ बजेर ५१ मिनेटमा
आज विजयादशमी । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी वडा दशैँकाे सबैभन्दा महत्वपूर्ण दिन हो । विजयादशमीलाई दशहरा वा दसैँ पनि भनिन्छ । विजयादशमी प्रत्येक वर्ष नवरात्रिको अन्त्यमा मनाइने एक प्रमुख हिन्दू चाड हाे ।
घटस्थापनाको दिनमा दशैं घर या पूजाकोठामा वैदिक विधिपूर्वक पञ्चधातु, पञ्चपल्लव, जौ र मकै लगायतका विभिन्न थरीका बिजहरु छरेर जमरा उमार्न घटस्थापना गरि नौ दिनसम्म विधिवत रुपमा पूजापाठ गरी उमारिएको जमरा दसौं दिनमा ग्रहण गरि विजयादशमी मनाईन्छ । विजयादशमी विभिन्न कारणले मनाइन्छ र भारतीय उपमहाद्वीपका विभिन्न भागहरूमा फरक तरिकाले मनाइन्छ ।
भारतको दक्षिणी, पूर्वी, उत्तरपूर्वी र केही उत्तरी राज्यहरूमा विजयादशमी दुर्गा पूजाको अन्त्यको प्रतीक हो, देवी दुर्गाले दानव महिषासुरमाथि विजय प्राप्त गरी धर्मको पुनर्स्थापना र रक्षाको लागि विजय प्राप्त गरेको सम्झना गरिन्छ भने उत्तरी, मध्य र पश्चिमी राज्यहरूमा, यो चाडलाई पर्यायवाची रूपमा दशहरा भनिन्छ । यी क्षेत्रहरूमा, यो रामलीलाको अन्त्यको प्रतीक हो र भगवान रामको रावणमाथि विजयको सम्झना गरिन्छ । असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन नौ देवीको पूजापाठ गरि आज विजय दशमी मनाइँदै छ ।
घटस्थापनामा जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका र जमरा ग्रहण गरिन्छ । यसपालीको टिकाको साईत बिहान ११ बजेर ५१ मिनेटबाट शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितीले जनाएको छ । दशमी अर्थात् विजयादशमीको दिन आफन्त, इष्टमित्र भेला भएर दुर्गा पूजा गर्ने र मान्यजन तथा आफूभन्दा ठूलाबाट टीका थाप्ने, आशिर्वाद लिने गरिन्छ ।
वर्षदिनमा आफन्त, इष्टमित्रवीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने चाडकाे रूपमा दशाैंलाई मनाउने गरिन्छ । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । विजयादशमीका दिनदेखि आफूभन्दा ठूलाबाट टीका थाप्ने र आशिर्वाद लिने कार्य काेजाग्रत पूर्णिमासम्म चल्नेछ । काेजाग्रत पूर्णिमासगैं दशाैंकाे अन्त्य पनि हुन्छ ।