प्रधानमन्त्रीले पाए २६८ सांसदको विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत पाएका छन् ।

गत पुस १० मा नेकपा एमालेसहितका ७ दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका दाहालले आज विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधि सभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । आजको बैठकमा २७० जना सांसद उपस्थित थिए ।

प्रधानमन्त्रीलाई आफ्नै दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका हुन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् ।