ल्होछारमा तीन दिन सार्वजनिक बिदा दिने खानीखोलाकाे निर्णय

काभ्रेपलान्चोक । जिल्लाको खानीखोला गाउँपालिकाले ‘सोनाम ल्होछार’ मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’ मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८४९ औँं तावर/ह्योई ल्हो (विरालो वर्ग) को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यस अन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले ल्होछार पर्व मनाउनको लागि आगामी माघ ७, ८ र ९ गते गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थाहरूसमेत बिदा दिने निर्णय गरेको बताएका छन् । अध्यक्ष थिङले पहिलो दिन (माघ ७ गते) लामा खेन्पोबाट पुजा, दोस्रो दिन तामाङ भाषाको व्हाईखा (कविता) र ताम्बा/डम्फू गीत प्रतियोगितासँगै तेस्रो दिन बृहत साँस्कृतिक कार्यक्रम सहित ल्होछार मनाउन लागिएको बताए । ल्होछारलाई गाउँपालिकाको साझा पर्वको रुपमा मनाउन ल्होछार मुल आयोजक समितिको सचिवमा गैर तामाङ समुदायको व्यक्तिलाई राखिएको थिङले बताएका छन् ।

गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा ३४ सदस्यीय ल्होछार मुल आयोजक समिति समेत गठन गरिसकेकाे पालिकाले जनाएकाे छ । ल्हाेछारकाे अवसरमा आयाेजित व्हाईखा र ताम्बा प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद सहित प्रमाणपत्र दिईने बताउँदै गाउँपालिकाभित्र जन्मिएर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई ‘खानीखोला प्रतिभा सम्मान’ मार्फत् सम्मान गरिने संयोजक जिम्बाले बताएका छन् । पालिकाले सोनाम ल्होछारकाे अवसरमा विविध कार्यक्रम गरी तीन दिनसम्म मनाउने जनाएकाे छ।

ल्होछारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने प्रचल रहि आएकाे छ ।

तामाङ समुदायले चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्षको रुपमा मान्ने गरिदै आएकाे पाईन्छ ।