विमान दुर्घटनाको शोकमा साेमबार सार्वजनिक बिदा, छानबिन गर्न ५ सदस्यीय आयोग गठन
काठमाडौं । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतीको खोँमाच दुर्घटना भएको शोकपूर्ण घटनाका कारण सरकारले साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।
आाईतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हाे । आईतबार काठमाडौंबाट पोखराका लागी उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९एन–एएनसी विमान बिहान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । यति एयरलाइन्सको उक्त जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।
दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु रहेकाे जनाईएकाे छ ।
प्रहरीका अनुसार ३० जनाको शव निकालिएको छ ।
यस्तै, विमान दुर्घटनाबारे छानबिन गर्न सरकमरले ५ सदस्यीय आयोग गठन गरेकाे छ ।
दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । विमान दुर्घटनाकाे कारण पहिचान गरेर र आगामी दिनमा यस्ता दुर्घटना नदोहोरिने गरी आवश्यक सुझाव सहितको प्रतिवेदन दिन आयोगलाई ४५ दिनको समय तोकिएको छ ।
आयोगको सदस्यहरूमा नेपाली सेनाबाट अवकाश प्राप्त उपरथी दीपक प्रसाद बास्तोला र हवाई इन्जिनियर सुनिल थापा सहित ५ जना छन् । आयोगको सदस्य सचिवमा संस्कृति मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने रहेका छन् ।
साथै, मन्त्रिपरिषद्को बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय समेत गरेको छ । दुर्घटनाबारे मृतक र घाइतेका परिवारलाई आधिकारिक सूचना दिन कल सेन्टर स्थापना गर्ने निर्णय गरिएको पनि सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।