मन्त्रिपरिषद विस्तार, मंगलबार नियुक्त भएका मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषद् विस्तार गरेसंगै मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएकी हुन् । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले मंगलबार शपथग्रहण गरेका छन् । उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति भण्डारीले गराएकी हुन् भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री दाहालले गराएका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३-३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १-१ राज्यमन्त्री पाएका छन् ।

माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका छन् । यस्तै, सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

नेकपा एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, पदम गिरी स्वास्थ्य मन्त्री र भगवती चौधरी महिला बालबालिकामन्त्री र हरि उप्रेती रक्षामन्त्री बनेका छन् ।

राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । रायस्तै, प्रपाबाटै दीपकबहादुर सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम तथा समाजिक सुरक्षामन्त्री र शिशिर खनाल शिक्षा मन्त्री बनेका छन् । यस्तै, तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । रास्वपाका अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।