घिमिरे सभामुखमा निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।
बिहीबार प्रतिनिधिसभामा बिहीबार घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेकाे हाे भने विपक्षमा १०० मत पर्यो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।
घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा मतदान गरेका हुन् ।
नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि सभामुखमा उम्मेदवारी दिएकी थिइन् तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन ।