स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत ५ गते हुने स्ववियु निर्वाचनकाे कार्यतालिका सार्वजनिक गरेको हो । मतदानको समय बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यतालिका बनाएको छ । फागुन १९ गते विद्यार्थी संगठन दर्ता समय तोकिएको छ । फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी विरोधको समय तोकिएको छ ।

यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ । फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ । त्यस्तै फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै, चुनाव प्रचार प्रसारका लागि फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्मको समय तोकिएको छ ।

स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन भएसँगै क्याम्पसको वार्षिक प्रणाली अनुसार भइरहेको स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।

स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने त्रिविले जनाएको छ । निर्वाचनमा १८ चैत २०५१ को जन्म मिति र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार हुन पाउनेछन् ।