राप्रपाका मन्त्रीहरुले बुझाए राजीनामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपा उपप्रधानमन्त्री सहित सरकारमा सहभागी भएको थियो ।
राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन सहित मन्त्रिपरिषदमा सहभागी राप्रपा नेताहरुले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।
शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
राप्रपाबाट मन्त्रिपरिषदमा अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका थिए । त्यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री थिए ।
आज बिहान बसेको राप्रपाकाे केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने निर्णय गरेको थियाे ।
सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।