राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे आजदेखि आचारसंहिता लागू
काठमाडौं । आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।
निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आाज फागुन १७ गतेदेखि आगामी चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको हो ।
राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास
चन्द्र नेम्वाङ उम्मेदवार छन् ।
गत माघ १६ गतेको निर्णय अनुसार आयोगले यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्दैछ ।
आयोगको निर्णय अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई आचारसंहिता लागू हुनेछ ।
संवैधानिक व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेश सभाका ५५० गरी कूल ८८२ मतदाता रहन्छन् ।
आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबै पक्षलाई आग्रह समेत गरेको छ ।
राष्ट्रपतिकाे निर्वाचनपछि मात्र उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने छ।