एमालेका सचेत नेताहरूले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिनुपर्छ: लालध्वज
धुलिखेल । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति काभ्रेपलान्चोककाे वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
राेजन तामाङकाे अध्यक्षतामा भएकाे कार्यक्रम नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एंव प्रतिनिधिसभा सदस्य तथा पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) काे प्रमुख आतिथ्यतामा भएकाे थियाे । माओवादी केन्द्रकाे काभ्रे जिल्ला इन्चार्ज समेत रहेका दोङले साधारणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका सचेत नेताहरूले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिनुपर्ने बताएका छन् । उनले सुवास नेम्वाङलाई मत दिँदा खेर जाने र रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको दाबी गरे ।
राष्ट्रपतिको निर्वाचनमा हार्ने देखिएपछि एमाले अध्यक्ष केपी ओलीले सुवास नेम्वाङलाई उठाएको भन्दै नेम्वाङको राजनीति सकाउन ओलीले यस्तो कदम चालेको समेत बताएका छन् ।
शनिबार काभ्रेको धुलिखेलमा भएकाे प्रेस सेन्टर नेपाल काभ्रेपलान्चोकको पहिलो साधारणसभा तथा सहिद सप्ताह कार्यक्रममा बाेल्दै दोङले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असफल हुँदा जनयुद्ध र जनआन्दोलनको जगमा आएको व्यवस्था असफल हुने बताएका छन् । उनले व्यवस्था बदलिए पनि राज्य सञ्चालनको तरिका बदल्न नसकेको समेत बताए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री तथा काभ्रे प्रदेश सभा सदस्य रत्न ढकालले संगठनलाई सुदृढ गरी अघि बढ्नु पर्ने भन्दै प्रेस सेन्टर जनतासम्म पुग्न आवश्यक रहेको बताए।
यस्तै, प्रेस सेन्टर नेपालका उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्काले प्रेस सेन्टर सधैं जनताकाे पक्षमा रहेकाे र आम जनतासम्म सूचना पुर्याउने संगठन भएकाे बताएका छन् ।
जिल्ला सचिव शिज प्रसाद पन्तले संचालन गरेकाे कार्यक्रममा नेता दोङ, ढकालसँगै संविधानसभा सदस्य तेजबहादुर मिजार, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल लगायतकाे उपस्थित थियाे ।