राजतन्त्र नफर्काउने शर्तमा राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेललाई समर्थन: कृष्णबहादुर महरा

बनेपा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले राजतन्त्र नफर्काउने शर्तमा राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका छन् ।

आईतबार बनेपामा नेकपा (माओवादी केन्द्र) बनेपा नगर कमिटिले आयाेजना गरेकाे सहिद सप्ताहको अवसरमा सहिद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महराले यस्तो बताएका हुन् । नेता महराले जनयुद्ध र जनआन्दोलनको जगमा आएको अन्तरिम संविधान र गणतन्त्रसँगै बृहत शान्ति सम्झौताको बाँकी कामलाई टुंगो लगाउनु पर्ने दायित्व रहेको बताए ।

साथै, उनले गणतन्त्रलाई संस्थागत विकास गर्नु पर्ने बताउँदै शान्ति पक्रियालाई टुंगो लगाउने मार्यमा नेकपा एमालेभन्दा नेपाली कांग्रेसको समर्थन तुलनात्मक रुपमा बढि देखिएको बताएका छन् ।
नेता महराले माओवादी सरकारमा चुनौतीसहितको अवसरमा रहेको जनाएका छन् ।

उनले भने देशमा अहिले दर्ता भएका २६ वटा र दर्ता नभएका छ वटा गरी जम्मा ३२ वटा कम्युनिष्ट पार्टीमध्ये माओवादी मात्रै फुटेर ९ वटा पार्टी बनेकाे भन्दै फागुन २५ गतेपछि तत्काल एकता नभएपनि ५ भन्दा बढी कम्युनिष्ट दलहरूवीच एउटा मोर्चा बन्ने बताए ।

त्यस्तै साेही कार्यक्रममा बाेल्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा संघीय संसद सुर्यमान दोङ (लालध्वज)ले राष्ट्रिय राजनीतिमा देखिएको समस्यालाई समाधान गर्नुकाे विकल्प नभएकाे बताए । उनले थपे- समाजमा प्रदुषण पैदा गर्ने शाक्तिहरू एक ठाउँमा उभिएकोले त्यसतर्फ सचेत रहनुपर्ने समेत बताईका छन् ।

बनेपा नगर अध्यक्ष सुरेन्द्र श्रेष्ठकाे अध्यक्षता र उपाध्यक्ष सुरज केसीले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे संचालन सचिव माेहन कुमार श्रेष्ठले गरेका थिए ।

सहिद सप्ताहको अवसरमा सहिद परिवारलाई सम्मान कार्यक्रममा सहिद परिवार, बेपत्ता, घाइते, ‘जिउँदो सहिद’को रुपमा चिनिने दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थ लगायतलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएकाे थियाे ।