शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्न माओवादी धारका ८ पार्टी एकमत
काठमाडौं । माओवादी धारका ८ पार्टीका नेताहरूको बैठक सम्पन्न भएकाे छ ।
बैठकले विस्तृत शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न एकमत रहेने निर्णय गरेकाे छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौँ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्दछ ।’
बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत सहभागी थिए ।