तेस्रो राष्ट्रपतिकाे निर्वाचन आज, ८ सय ४२ सांसदले मतदान गर्ने
काठमाडौँ । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद भवन नयाँबानेश्वरमा मतदानको समय निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन सकिएलगत्तै आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जनाएका छन् ।
प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेश सभा सदस्यहरुले भाग लिने राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।
संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७ सय ८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३ सय ९४ मतभार चाहिन्छ ।
राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् ।
संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ । मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ । यस्तै, उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।