तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका छन् ।
पौडेलले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पाैडेलले संघतर्फ २ सय १४ र प्रदेशतर्फ ३ सय ५२ सांसदको मत पाएका छन् ।
यस्तै, नेम्वाङले प्रदेशतर्फ १ सय ६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ ।
पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले मत दिए ।
संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३ सय १३ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्य गरी ८ सय ३१ जनाले मतदान गरेका थिए । संघीय संसदका ३ सय ३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् ।
नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् भने कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् ।
यस्तै, मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् ।