प्रधानमन्त्री प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत, १७२ सांसदको समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।

सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो ।

प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावमा १ सय ७२ सांसदले समर्थन जनाए भने ८९ सांसदले विपक्षमा मत दिए । यस्तै, एक सांसद तटस्थ रहे । प्रतिनिधिसभामा भएको मतदानमा कुल २ सय ६२ सांसद उपस्थित थिए ।

यश अघि १० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि २६ पुसमा पहिलाे पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए । पहिलाे पटक दाहालले २ सय ६८ सांसदको मत पाएका थिए भने दुई सांसदले विपक्षमा मत दिएका थिए ।

सोमबार प्रतिनिधिसभामा दोस्रो पटक विश्वासको मत लिँदा दाहाललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका हुन् ।

नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे ।

दाहाल गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।