सम्झनामा ठूली आमा

सम्झनामा ठूली आमा: भो नसंझाउ, मुटु भक्कानिन्छ, आशुको कथा म लेख्न सक्दिन मृत्युलाई जित्न सकिन्न, भएको छ मन खिन्न ..
अङ्ग्रेजी मिति मार्च २४ अर्थात् चैत्र १० गतेको साँझ अलि उदास लाग्दो थियो । नेपालमा दिउँसो हुँदा कोरियामा साँझ परिरहेको समय थियो । कोरियन समय ४ः३० बजे तिर कामबाट आएर रुममा फ्रेस भएर खाजा खाने तयारीमै थिएँ । मेरो मोबाईलमा म्यासेजको टोन लामै बज्यो । हेर्दा श्रीमती जमुनाले म्यासेन्जरमा दुःखद् खबरहरु म्यासेज गरिरहेकी थिइन् । म त्यो केवल सपनझै सोच्दै थिएँ, एकाएक आङ सिरिंग भयो । कताकता घोचेजस्तो, पोलेजस्तो, रिँगटा लागेर ढलौँजस्तो, डाको छोडेर रोहुँ झैँ मन बाटारीएर गाँठो भइरहेको थियो ।
भर्खरै मात्र परदेशको ड्युटीबाट आएको मान्छे हातखुट्टा गलेर पाइला अघि सर्नै मानेन । मेरो बाध्यता थियो जसरी पनि फेरि सुतेर उठेर ड्युटी जानुपर्ने । सेकेन्ड–सेकेन्ड समयको महत्व छ यहाँ । भुवाजस्तो शरीरलाई गह्रौँ बनाएर सुत्ने कोसिस गरे तर निन्द्रा कहाँ लाग्छ र । मन लागी–नलागी सुत्ने प्रयत्न गरें सुतेँ झै गरेँ । जगतमा मृत्यु मात्र एक सत्य हो भन्ने कुरा त मैले बुझेकै हूँ तर पनि कति कठिन हुँदो रहेछ आफूलाई हुर्काउने माया गर्ने पात्र बिती जाँदा मैले यो अनुभूत गरें । तर त्यो घटना सत्य नभइदियोस् भनेर लाखौँपटक कामना गरेँ मनमनै । पत्याउनै सकिरहेको थिइनँ । अरु छिमेकैलाई नि म्यासेन्जर बाटै सोधें श्रीमतिले सुनाएको मृत्यु खबर । आशा थियो अरुले त्यो झुटो हो भन्लान् भन्ने । तर, जवाफ ठीक विपरीत आयो । आखिर सत्य त्यही नै रहेछ जुन श्रीमतिले सुनाएको खबर थियो मेरी ठूली आमा अब रहनु भएन भन्ने । स्तब्ध त म छँदै थिए त्यसै माथि मेरो दिमागमा अचानक ठूली आमा सँगका बितेका स्मृति मेरो मानसपटलमा आउँछ फिल्मी शैलीमा झैँ आउँछ हराउँछ फेरि आउँछ फेरि हराउँछ सेकेन्ड सेकेन्डमा । माइली ठूली आमासंग
अन्तिम कुरा बित्नु भन्दा १ हप्ता अगाडी भक्तपुरमा भएको थियो त्यति खेर २ मिनेट जति मात्र बोल्न पाए त्यस पछि बोल्न सक्नु भएन । एक वर्ष अगाडी जनै खटिरा आएको ठाउँमा पोलेको भनेर बोल्नै सक्नु भएन । अन्तत निहुँ नै त्यही बनाइदियो दैवले । र मैले फेरि भेट्ने बोल्ने सौभाग्य गुमाएँ फेरि सँगै हुने, आफूलाई बच्चामा झैँ आफूले बुढेसकालमा सेवा गर्ने त्यो मेरो उदेश्य पूरा हुन पाएन ।
…………………
•मलाई माफ गरिदिनु माईली ठुली आमा
खै कसरी ब्यक्त गरौँ बितेका ती स्वर्णिम बालापन । आमापछिको आमा संगको यादगार सम्झनाहरु जति बेला हामी सानै र भोकै हुँदा मेलापात बाट आफुले खाई-नखाई सानो टुक्रा गहुँको पिठ्ठोको त्यो सानो गोलाकार आकारको रोटी होस् या मकै भट्मास जे भए पनि ल्याएर दिनुहुन्थ्यो। हामी प्रतिको हजुरको त्यो ममता र मायाले बेला बेला झस्काउथ्यो के हामीले ठूलो भएर त्यस्तै सेवा गर्ने मौका पाउँदैनौं त अब हरबखत यो मन चस्किरहने छ । मलाई हजुर बिरामी हुनु भए देखि जे डर थियो त्यो डर हजुरको मृत्युले गरायो । अभागी रहेछु सोच्दैछु । हिजोसम्म साथैमा भए झै महसुस गर्न पाउँथे अब बाट त्यही महसुस गर्ने दिन पनि रहेन । अब मात्र सम्झानहरुले यो परदेशीको आँखा हरपल रुझाउने भयो ठुलीआमा,आज हजुरले छोडेर जानु भएको पनि ५ दिन बितिसके छ, खै यो परदेशीको बाध्यता र विवशताले होला आज सम्म पनि सपना झै लागिरहेको छ। भएर र दुरि टाढा हुनु र हुँदै नहुनुमा यो मनले निकै फरक अनुभुती गरिरहेछ। ती बिगतमा हजुर सँगै मैलापात, घाँस दाउरा गर्दा सँग सँगै गएको पल आफ्नो आमा बाट भन्दा हजुर बाट धेरै सिकेका कुरा, आमाले गाली गर्नु हुँदा हजुरको काखमा रमाएका पल ,गल्तिमा सम्झाउनु भएका कुरा, काँही कतै टाढा हिड्नु पर्यो भने भोलि म सँगै जाऊँ है “रामे”भनेर भन्नु भएको त्यो वचन अब यी कुराहरु मलाई कसले सोध्ने कल्पनामा मात्रै सीमित भए सबै …। दुःख पर्दा दु:ख बिसाउने चौतारा, अनि सुख र खुशी साट्ने आगँन बनिदिनु हुन्थ्यो । तिनै मिठास पलहरु संगालेर आफ्नो र आफ्ना पारिवारिक खुसी किन्न आज भन्दा ९ महिना अगाडी हजुरकै आशिर्वाद बोकेर बिदाइका हात हल्लाउँदै म पर्देशिएको हिजो जस्तै लाग्छ ।
हजुरले दिनुभएको आट हौसला र मायाले गर्दा यहाँ सम्मको यात्रालाई निरन्तरता दिदै गर्दा तपाई बिरामी भएर हस्पिटलको बेडमा मृत्यु संग लड्दै हुनुहुन्छ भन्ने खबर थाहा पाए को दिन देखि नै यो मन बेचैन थियो। दुनियाँको लागि चन्दा दान सहयोग गरेर हिड्ने म हजुरको लागि चाहेर नि केहि गर्न नसक्दा हजुरले नाबालक देखि लगाउनु भएको गुनको ऋणी भएको छु । यो जुनिमा नसके पनि अर्को जन्म र जुनि हुन्छ भने अवश्य म ऋण चुक्ता गर्नेछु ठुली आमा …।
अब त मनमा तुफानको आधिबेरि चल्न थाल्यो । के गरौँ, कसो गरौँ मात्रै भइरह्यो । ठूली आमाले हामी सबैलाई छोडेर जानुभयो । ठूलबालाई भन्न मन लागेको छ– ठुलबुबा आमाले छोडेर गए पनि तपाईंको हरेक अप्ठ्यारोहरुमा म छु है । तर, सात समुन्द्र बाट मैले भनेको सुन्नुहुन्न …..। केही दिनअघि रोगसँग जुधिरहेको छु केही दिनमा सन्चो होला भन्नुहुन्थ्यो । तर, निष्ठुरी रहेछ समय ठुलीआमाको याद र सम्झना बाहेक हामि माझ भौतिक शरीर रहेन । श्रद्धाञ्जली लेख्न सकेको छैन, नलेखी सुख पनि छैन ।
सात समुद्रपारिबाट हार्दिक श्रद्धाञ्जली माइली ठूली आमा । हजुरको स्वर्गमा बास होस् चिर शान्तीको कामना
” ॥ॐ माने पद्मे हुं॥ १०८ “