एसईई परीक्षा आजबाट, ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदै छ ।

चैत २ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षा आज बिहान आठ बजेदेखि सुरु हुनेछ । परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिने परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताएका छन् ।

एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् भने सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९ सय ५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ । यस्तै, कर्णालीमा ४१ हजार ३ सय २९ परीक्षार्थी र १ सय ७९ परीक्षा केन्द्र छन् ।

साथै, राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।