नवनियुक्त १२ मन्त्रीले लिए शपथ
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका ४, नेकपा एकीकृत समाजवादीका २, नेकपा माओवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीका १-१ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।
यस्तै, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् ।
साथै, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई शिक्षा विज्ञान तथा प्रविधि, एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, नेपाल समाजवादी पार्टीका अध्ययक्षसमेत रहेका महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयाेजित समारोहमा १२ जना नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।