क्रिकेट विश्वकप छनौटका लागि २२ सदस्यीय प्रारम्भिक टोली

काठमाडौं । आगामी महिना जिम्बाब्वेमा हुने एकदिवसीय क्रिकेट विश्वकपको छनौट खेलमा नेपालको तर्फबाट २२ सदस्यीय प्रारम्भिक टोलीको नाम क्रिकेट एशोसियसन नेपालले आज सार्वजनिक गरेको छ ।

क्यानले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा रोहित कुमार पौडेलको कप्तानीमा कुशल भुर्तेल, आसिफ सेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ सेख, दीपेन्द्र सिं ऐरी, गुल्सन झा, सोमपाल कामी, करण के.सी., सन्दीप लामिछाने, भिम सार्की, प्रतीस जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दिप जोरा, देव खनाल, किशोर महतो, सुर्य तामाङ, कमल सिं ऐरी, श्याम ढकाल र अविनाश बोहरा रहेका छन् ।

नेपालले आगामी महिना जिम्बाब्वेमा हुने छनौट प्रतियोगितामा समुह ‘ए’ मा रहँदै आयोजक जिम्बाब्वे, दुई पटकको विश्वकप विजेता वेस्ट इण्डिज तथा एशोसियट तर्फको नेदरल्याण्ड र युएसएको सामना गर्नेछ । अर्काे समुह ‘बी’ मा एकपटकको विश्वविजेता श्रीलंकाले आयरल्याण्ड, स्कटल्याण्ड, ओमन र युएईको सामना गर्नेछ ।

दुवै समुहको शीर्ष तीन टोलीले सुपर सिक्समा प्रवेश गर्नेछ भने सुपर सिक्सबाट उत्कृष्ट दुई टोलीले आगामी अक्टोबर महिनामा भारतमा हुने विश्वकपमा भाग लिन पाउनेछ ।