नमोबुद्धले गर्‍यो जनतनकाे सेवामा पहिलाे वर्ष कार्यक्रम

काभ्रेपलान्चोक । जिल्लाको नमोबुद्ध नगरपालिकाले जनतनकाे सेवामा पहिलाे वर्ष कार्यक्रम गरेकाे छ ।

स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिले एक वर्षको अवधिमा गरिएका कामको सम्पादनका बारेमा नगरपालिकाले वार्षिक समीक्षा कार्यक्रम गरेको हाे ।

बिहीबार आयाेजित कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले एक वर्षको कार्य सम्पादनकाे विवरण प्रस्तुत गरिएका थिए । एक वर्षको कार्य सम्पादनमा नगरपालिकाले निःशुल्क स्वास्थ्य परीक्षणदेखि घरदैलो सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गरेको पालिका प्रमुख लामाले बताए ।

नगरपालिकामा १८ वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह, अल्कालीन, निःशुल्क प्रोटिन परीक्षण र एक वर्षसम्म निःशुल्क औषधिको व्यवस्था गरिएकाे लामाले बताएका छन् । साथै, नगरपालिकाका ११ वटै वडाका विभिन्न १०७ स्थानबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको बताँउदै पालिकाले पूर्ण अशक्त वर्ग, बैंकिङ सेवासम्म पुग्न नसक्ने लाभग्राहीहरूलाई चौमासिक रुपमा भत्ता वितरण गर्न वित्तीय संस्थाहरूसँगकाे समन्वय र सहकार्यमा घरदैलोमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउँदै आएको नगर प्रमुख लामाले बताए ।

यस्तै, सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेकाे कार्यक्रममा बताइएकाे छ ।